भक्तपुरको सूर्यविनायकमा मुख्य कार्यालय रहेको शुभकामना बचत तथा ऋण सहकारी संस्थाले २५ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको साधारण सभा सम्बन्धी निर्देशनलाई पालना गर्दै सदस्यबिच व्यापक छलफल गरी साधारण सभा सम्पन्न गरेको हो ।
सभामा संस्थाका अध्यक्ष राम प्रसाद कासुलाले मुलुकमा आएको आर्थिक मन्दी र केहि सहकारी संस्थाले सदस्यको बचत फिर्ता नगर्दा समाजमा सहकारीप्रति गलत दृष्टिकोण बनेको बताए । तर यस्तो अवस्थामा समेत शुभकामनाले भने समाजमा छुट्टै पहिचान बनाई सदस्यहरुलाई सेवा प्रदान गदै आएको उनको भनाई छ । उनले सदस्यहरुको विश्वास, सञ्चालक समिति,विभिन्न उप समिति र कर्मचारीहरुको सक्रिय भूमिकाका कारण संस्था उत्कृष्ट बन्न सफल भएको जनाए । ‘आजको आवश्यकता सुरक्षित लगानी, सुरक्षित लगानीको लागि शुभकामना’ भन्ने नारा सहित सदस्यहरुको बचतको सुरक्षाको प्रत्याभूति गराउँदै सदस्य केन्द्रीत विभिन्न कार्यक्रम गर्दै आएको उनले सभामा जानकारी दिए ।
सदस्यहरुलाई सहकारीको महत्वको बारेमा जानकारी दिने उदेश्यले वित्तीय साक्षरताको कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेको र वित्तीय साक्षरतामार्फत् संस्थाको सेवाको बारेमा जानकारी दिँदै आएको उनले बताए । आर्थिक मन्दीले ऋण लगानी र असुलीमा समेत समस्या भइराखेको अवस्थामा गत बर्षको खुद बचतबाट सदस्यलाई ९ प्रतिशत लाभांश दिन सक्नु संस्थाको सफलता भएको उनको भनाई छ । संस्थाका सचिव पुष्प लाल तिमिलाले आर्थिक बर्ष २०८१\८२ को बार्षिक प्रतिवेदन तथा आगामी बर्षको नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरेका थिए । संस्थाले गत आबमा घरदैलो कार्यक्रम,शिक्षा शिविर,बालबालिका तथा अभिभावकको मानसिक स्वास्थ्य सम्बन्धी अभिमुखिकरण कार्यक्रम, बाँसुरी बाजा प्रशिक्षण,रक्तदान जस्ता थुप्रै कार्यक्रम गरेको सभामा उनले जानकारी दिए ।
कोषाध्यक्ष धर्मरत्न शाक्यले आर्थिक बर्ष २०८१\८२ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै शेयर पुँजी ११ लाख ६१ हजार,जगेडा तथा अन्य कोष १९ करोड २५ लाख, बचत संकलन १ अर्ब ४० करोड ९८ लाख गरी ऋण लगानी १ अर्ब ५ करोड ८९ लाख पुगेको बताए । गत आबमा संस्थाको कुल सम्पत्ति १७.२९ प्रतिशतले वृद्धि भई १ अर्ब ८१ करोड ४५ लाख पुगेको उनले सभामा जानकारी दिए । संस्थामा ११ हजार सदस्य आवद्ध रहेका छन् । संस्थाले २०६५ सालदेखि सदस्यको हितलाई ध्यानमा राखी मृतक राहत कार्यक्रम समेत सञ्चालन गरेको उनले बताए । संस्थाले उमेर समुह अनुसार सदस्यहरुलाई लक्षित गरी १८ वटा बचतको प्रकार सञ्चालनमा ल्याएको छ भने व्यापारिक, आवास,शैक्षिक,कृषि, हायर पर्चेच,घर जग्गा खरिद,लघु र व्यवसायिक कर्जा लगानी गर्दै आएको छ ।
विभिन्न विधामा सदस्यलाई सम्मान
संस्थाले २५ औं साधारण सभाको अवसरमा विभिन्न विधामा सदस्यहरुलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ । संस्थाले कक्षा ८, एसईई, पल्स टु र स्नात्तकोतरसम्म अध्ययन गर्ने विधार्थीहरुलाई नगद सहित सम्मान गरेको छ । त्यसैगरी उत्कृष्ट बचतकर्ता असल ऋणी, जेष्ठ र सदस्यलाई समेत सम्मान तथा पोषिलो खानेकुरा प्रदान गरेको थियो । सभामा उल्लेख्य सदस्यहरुको उपस्थिति रहेको थियो ।